काठमाडौं । ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसर प्रमुख टेक प्रसाद राईले बताए । निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि स्थानीय र प्रहरीबीच झडपले उग्ररुप लिएको थियो ।
रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए। कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ ।
असोज २ देखि मलमास सुरु हुँदैछ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन् । जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।
