काठमाडौँ । भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेसंगै भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको हो ।
छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गरिएको छ । विभागले दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरेको हो । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति समेत बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।
