काभ्रेकाे ५० प्रतिशत पानी दूषित, जारकाे पानीमा समेत ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रेकाे ५० प्रतिशत पानी दूषित, जारकाे पानीमा समेत ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रेपलाञ्चोक । जिल्लाको पचास प्रतिशत खानेपानी दूषित भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका खानेपानी आयोजनाको पानी परीक्षण गर्दा खानेपानी दूषित भएको पुष्टि भएको हो ।

सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षण गर्दा पानीजन्य रोगको जोखिम पुष्टि भएको कार्यालयले जनाइएको छ ।

परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताए । परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो ।

डा सेढाईँले भने, ‘जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ ।’ कतिपय स्थानमा वितरीत जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको छ । ‘जारमा खानेपानी बिक्री गर्ने कम्पनीको तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा यस्तो देखियो ।

यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।’ १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.