काठमाडौं । कार्यविभाजनलाई लिएर नेकपा एमालेभित्र असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सरसल्लाह नै नगरी एकतर्फी केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि बहुमत नेताहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।
भक्तपुरमा बसेको बैठकमा अध्यक्ष ओलीले सिधै नामहरू प्रस्ताव गरेका थिए। लगत्तै सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरूङ, योगेश भट्टराई, झपट रावल, निरज आचार्य लगायतले विरोध जनाए । के को आधारमा मान्छेलाई स्थायी समिति, पोलिटब्युरोमा ल्याएको हो ? भन्दै योगेश भट्टराईले प्रश्न गरे ।
अध्यक्षले मन पराउने र मन नपराउनेको आधारमा मापदण्ड बनाउँदा जिम्मेवारी पाउनेले पनि आत्मगलानी गर्ने बताए । अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको भिम रावलले बताए ।
एमालेको भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी समिति र ९९ सय सदस्यीय पोलिटब्युरो गठन गरेको छ। त्यस्तै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनित समेत गरेको छ। जसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत परेका छन्।
कतिपय एमालेका पदाधिकारी भने आफूहरूले सिफारिस गरेका व्यक्ति केन्द्रीय सदस्य नबनेकोमा असन्तुष्ट रहेका छन्। ओलीले बैठकमा ९ सय मान्छेको सिफारिस आफूलाई आएको र सबैलाई समावेश गर्न सम्भव नभएको प्रतिक्रिया दिएका थिए।

