भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला लाग्ने भएको छ । श्रावण १ गतेबाट मेला लाग्ने भएको हो । पत्रकार सम्मेलन गरेर आज विहान बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको आयोजक समितिले जनाएको छ ।
सरसफाई कार्यमा डिभिजन वन कार्यालय, ईन्द्र बक्स गण सुर्यविनायक, महानगरीय प्रहरी वृत्त जगाती, सामुदायीक बन उपभोक्ता महासंघ भक्तपुर, संघ संस्था स्थानीय बासिन्दा लगाएको उपस्थितीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।
श्रावण १ गते लाग्ने मेला अगावै मन्दिर परिसरमा उल्लेख्यरुपमा दर्शनार्थीको चाप बढेको समितिका उपाध्यक्ष रामेश्वर बोहोराले बताए । मन्दिरका केही भौतिक संरचना निमाण कार्यलाई तिब्र गतिमा अगाडी बढाई रहेको महासचिव हरिशरण बस्नेतले बताए ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा मुलद्वार निर्माण कार्य सम्पन्न भएको र मेलालाई व्यवस्थित बनाउन सम्पूर्ण तयारी पुरा भएको कोषाध्यक्ष रत्न प्रसाद छुकांले बताए ।
हरियालि र बातावरको संरक्षण गर्ने हेतुले बगैचा र गमलामा फूलका विरुवा रोप्ने कार्य पनि सम्पन्न भएको छ । सामुदायिक भवन, दोश्रो धर्मशालाको निमाण कार्य भइरहेको छ ।
मूल मन्दिरमा रहेको पिलरलाई तामाबाट कलात्मका रूपमा मोडने कार्य जोडतोडले भैरहेको, कुनै अवान्छित कार्य नहोस भनेर सीसी टिभी थप गरिएको, श्रावणी मेला भरी आउन श्रदालु भक्तजनलाई सहज, सव्य रुपमा दर्शन गराउन आवश्यक प्रबन्ध मिलाउने कार्य पुरा गरिएको, श्रावण १ गते चन्द्र विनायक मन्दिर पौखेलबाट कलस यात्रा सुरु गरिने आयोजकले जानकारी दिएको छ ।
श्रावण २ गते देखि ८ गते सम्म शिव पुराण कथा बाचन, श्रावण ९ देखि १५ गते सम्म पुरुषोत माहात्मे वाचन, १६ देखि २२ श्रीमद भागवत महापुराण वाचन, २३ देखि २७ सम्म विभिन्न धार्मिक प्रवचन, २८ गते देखि भाद्र ५ गते सम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजन किर्तन, भाद्र ६ गते वार्षिक उत्सव एवं श्रावणी मेला २०८० को समापन गरिने समितिले जानकारी दिएको छ ।
मेला धार्मिकसंगसंगै पर्यटकीयरूपमा अगाडि बढेकाे हुनाले सुरक्षाकाे सम्पूर्ण व्यवस्था मिलाइ सकिएकाे वडाध्यक्ष पुष्पराज बस्नेतले बताए । डाेलेश्वर क्षेत्र धार्मिक पर्यटकीय हिसाबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालिसकेको उनकाे भनाइ छ ।
