अटोवा । क्यानडाको हाउस अफ कमन्समा निमन्त्रणा गरेर सम्मान गरेको विषयमा सभामुखले राजीनामा दिएका छन् । हिटलरको नाजी सैनिकको पक्षमा लड्ने एक व्यक्तिलाई सम्मान गरेपछि राजीनामा दिएका हुन । गत शुक्रबार क्यानडाको संसद्ले पूरै विश्वको ध्यान खिचेको थियो । सभामुख रोटाले ९८ वर्षीय योरोस्लाभ हुंकालाई युक्रेन युद्धको हिरो बताएका थिए ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको उपस्थितिमा संसद्मा सबैले उभिएर उनलाई सम्मान गरेका थिए । तर पछि हुंका हिटलरको सेनामा रहेको र नाजीको तर्फबाट दोस्रो विश्वयुद्ध लडेको खुलासा भएको थियो । यस घटनापछि क्यानडाका कयौँ नेताले ट्रुडो प्रशासनको निन्दा गर्दै रोटाको राजीनामाको माग गरेका थिए ।
विषयलाई लिएर चर्को आलोचना हुनुका साथै राजीनामाको माग भएपछि एन्थोनी रोटाले मंगलबार अटोवामा पार्टीका नेताहरूसँग छलफल गरेर पदबाट राजीनामा दिएका हुन् । संसद्मा उनले भने, ‘मैले सभामुखको पद छाड्नुपर्छ । म सबैसँग माफी माग्न चाहन्छु ।’
