धनगढी । उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक गस्तीमा गएकाबेला मृत फेला परेका छन् । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएका छन् ।
विकको शव नेपाल–भारत सीमामा बग्ने मोहना नदीमा फेला परेको छ । गर्धनमा धारिलो हतियार प्रहार गरी उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए । तस्करसँगको भिडन्तमा हत्या भएको हुन सक्ने उनको ठहर छ ।
खुला सिमाना भएकाले यो नाकाबाट अवैध रूपमा तस्करी हुँदै आएको मुख्य नाका हो । शव फेला परेको स्थान प्रहरी चौकीबाट करिब तीन किलोमिटरको दूरीमा छ । गस्तीमा जाँदा उनीहरू चढेको मोटरसाइकल प्रहरी चौकीबाट करिब एक किलोमिटरको दूरीमा फेला परेको छ ।उखुबारीमा रगत भेटिएकाले त्यहाँ हत्या गरेर नदीमा लास फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
हिजो शनिबार राति साढे आठ बजे गस्तीमा गएका दुवैजना साढे १० बजेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी जवान साउदको अवस्था अज्ञात छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल आसपासको बस्तीमा खानतलासी सुरु गरेको छ ।
