काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले नेपालीहरुले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् ।
एनआरएनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन एनआरएनले खेलेको भूमिकाको प्रशंशा गरिन् । उनले भनिन्, ‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
ललितपुर स्थित होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय रहेको बताइन् ।
कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता दिन पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन् । सम्मेलनमा विश्वभरी छरिएर रहेको नेपालीहरुको सहभागिता रहेको छ । सम्मेलनको भोलि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
