काठमाडौं । नेपालमा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् । त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन् ।
तीमध्ये पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन् । बागमती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन्। तीमध्ये काठमाडौँका ९ र ललितपुरका दुई जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा आठजना पत्रकार सङ्क्रमित भएका छन् ।
तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन् । प्रदेश नं ५ मा ११ जना पत्रकार सङ्क्रमति भएका छन् । तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका छ र रुपन्देहीका दुई जना रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेखमा एकजना पत्रकार सङ्क्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले बताए ।
कार्यस्थलमा खटिने पत्रकार, फोटो पत्रकार सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । महासङ्घले सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले अपील गरेको छ।
