काठमाडौं । भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते रहेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । घाइते १ सय ४० को स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्यकर्मीसहित प्रधानमन्त्री जाजरकोटमा
यसैबीच प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । सेनाको १६ जना मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन । पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि सो क्षेत्रमा गएका छन् ।
दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे भूकम्प गएको हो । नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।
