भर्खरै : Sorry, your browser does not support inline SVG.

ढोरपाटन आरक्ष शिकारका लागि खुला

ढोरपाटन आरक्ष शिकारका लागि खुला

बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो शिकारयाम सुरु भएको छ । पहिलो शिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ ।

अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न भोलिदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले बताए । अधिकृत थापामगरले सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन सिकार आरक्षमा आउने तयारीमा जुटेको जानकारी दिए ।

यस वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच सिकारी आउने भएका हुन् । उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत भोलिदेखि ढोरपाटन सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् ।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताउनुभयो । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ ।

पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलगेरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले १० देखि २० लाखसम्म तिर्ने गरेको पाइन्छ ।

सिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.