भर्खरै : Sorry, your browser does not support inline SVG.
सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना |

तामाकोसी–५ निर्माणको तयारी

तामाकोसी–५ निर्माणको तयारी

काठमाडौँ । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु-याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । जनताको जलविद्युत् कार्यक्रममा राखिएको यो आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण थाल्ने योजना प्राधिकरणको छ । “हाम्रो योजनाअनुसार अब लगानीकर्तासँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्नेछौँ । त्यसलगत्तै ठेक्का प्रक्रिया सुरु गर्न पाए र सरकारले पर्याप्त बजेट विनियोजन गरे आर्थिक वर्ष २०७८/७९ भित्र निर्माण थाल्नेछौँ”, उहाँले भन्नुभयो ।

यो आयोजनाका लागि ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गर्ने गरी प्रस्ताव तयार गरिएको छ । ऋणका लागि स्वदेशी लगानीकर्ता कर्मचारी सञ्चय कोष र विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)ले लगानी गर्न चासो देखाइरहेका जनाइएको छ । एआईआईबीले स्थानीयवासीको स्वीकृति, जैविक विविधतामा पर्नसक्ने असरबारे प्रतिवेदन खोजिरहेको छ ।

हेड वक्र्सको काम नहुने भएकाले यो आयोजनामा लगानी कम हुने अनुमान गरिएको छ । कम्पनी प्रमुख नसिबमान प्रधानका अनुसार निर्माण अवधिको ब्याजबाहेक यो आयोजनाको कुल लागत करिब १६ अर्ब रुपियाँ रहने बताइएको छ । यो आयोजना निर्माणका लागि अहिले कर्मचारी आवास, कार्यालयलगायतका पूर्वाधार बनाउन थालिएको छ । यसअघि यो आयोजनाको निर्माण २०७६ असार–साउनदेखि थाल्ने भनिएको थियो ।

जर्मन कम्पनी ट्र्याक्वेल इन्जिनियरिङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनअनुसार यो आयोजनाका लागि छुट्टै बाँध बनाउनु पर्दैन । माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर ब्यासको आठ किलोमिटर सुरुङबाट तामाकोसी–५ को भूमिगत विद्युत्गृहमा पु-याइनेछ ।

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.