काठमाडौं । दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायी मिलेर डेढ अर्ब रुपैयाँबढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेको जनाएका छन् ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए ।
काठमाडौंलाई १ अर्ब ६० करोडका खसीबोका
व्यवसायीले ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने तयारी थालेका छन् । एउटा खसीको औसत तौल ३५ देखि ४० किलो हुने काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले बताए ।
तिनको औसत मूल्य २० देखि २२ हजार पर्छ । खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजीतर्फबाट ५० हजार खसीबोका, खाद्यले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए । यसपालि स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उनको भनाइ छ । बैठकमा पशु सेवा विभागले नेपालमा खसीबोकाको संख्या ३६ लाख रहेको तथ्यांक प्रस्तुत गरेको थियो । वार्षिक उत्पादन २० प्रतिशतले बढ्छ । अर्थात् साढे ७ लाख उत्पादन हुन्छ ।
नेपालमा वार्षिक खसीबोकाको माग ५ लाख रहेको जनाइएको छ । गत वर्षको दसैंमा व्यवसायीले जिल्लाबाट ४० हजार खसीबोका ल्याएर बिक्री गरेको मन्त्रालयको तथ्यांक छ । यसपालि ५० हजार ल्याउने ठाकुरले जनाए । निजी क्षेत्रको तुलनामा सरकारी खसीबोका र च्यांग्राको संख्या भने धेरै कम छ । यता, सरकारी अधिकारी भने मुख्य उद्देश्य मूल्य हस्तक्षेप रहेको दाबी गर्छन् । काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने यसपालि हिउँदे दसैं भएकाले मूल्य खासै नबढ्ने दाबी गरे ।
