काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच चलेको छ ।
५३ औं स्थापना दिवस कार्यक्रममा नेता पौडेलले अहिलेको गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्र नभएको टिप्पणी गरेसंगै देउवाले नाजवाफ हुने गरी पौडेललाई घोचेका छन् । पौडेले भने, ‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र होइन, लोकतन्त्र बचाउनका लागि यो गठबन्धन हो ।’
जवाफमा देउवाले आफूले प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्र पौडेलसँग नभनेको टिप्पणी गरेपछि कार्यक्रममा घोचपेच चलेको हो । देउवाले भने, ‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर मैले रामचन्द्रलाई भनेकै होइन, सबै साथीहरुले बन भन्नुभयो के गर्ने ?’
काँग्रेसले निर्वाचन हार्दा पनि गठबन्धनका कारण अहिले सरकारमा सहभागी हुन पाएको देउवाले बताए । वरिष्ठ नेता पौडेलले नेपाल विद्यार्थी संघमा अध्यक्ष मात्र मनोनित गरिएको भन्दै अरु पदाधिकारी छिटो मनोनित गर्न आग्रह गरे ।
जवाफमा देउवाले अरु पदाधिकारी मनोनित नगर्ने संकेत गरे । रामचन्द्रजीले फेरि भागवण्डामै झगडा गर्ने हो भने गरे हुन्छ भन्दैदेउवाले भने, ‘मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो, मेरो ऊ चाहियो, त्यहीँ झगडा हुन्छ ।’ यो घोचपेचले अहिले काँग्रेसमा पानी बाराबारको स्थिति आउने आँकलन कार्यकर्ताले गरिरहेका छन् ।
