काठमाडाैं । साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ अर्थात नागको जन्मदिन मानिन्छ । नागपञ्चमीलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले समान रूपले मान्ने चलन छ । घरघरमा नागको राम्रो चित्र बनाई विधिपूर्वक ढोकामा टाँस्ने धार्मिक परम्परा रहेको छ ।
पहिला–पहिला नागको चित्र बनाई गुरु पुरोहितद्धारा यजमानको घरमा गाईको गोबरले टाँसिदिने र पुरोहितले आशिर्वाद दिने चलन थियो । पछिल्ला दिनमा त्यस्तो मौलिकता हराउँदै जान थालेको छ ।
नागको चित्रलाई घरको मूलढोकामा टाँसी विधिपूर्वक सेतो कमलको फूल, दूध, गोबर, भेटी, दही, चन्दन, दुबो, बेलपत्र, लाभा, कुश, सिन्दुर, श्रीखण्ड, चन्दन अक्षता र धूपसहितले पूजा गरेमा नागदेवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ ।
नागदेवतालाई सुगन्ध मनपर्ने भएकाले नागपूजामा श्रीखण्ड चन्दनले पूजा गर्ने चलन छ । ढोकाको शिरमा नाग टाँस्नाले घरमा चट्याङले नहान्ने, आगो, सर्प तथा बिच्छीको डर नहुने, मेघ, अग्नि र बज्रपात नपर्ने धार्मिक मान्यता रहिआएको छ । प्राकृतिक आपत–विपद् र अनिष्ट नाश हुने विश्वास नागपूजाले गर्दछ । नागपोखरी, पानी भएको कुवा इनारमा गएर यस दिन पूजा गर्ने चलन छ ।
आज नागपञ्चमी भएकाले भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिना, गटेकुको टेकुनाग, इटुम्बहालको जलनाग, थानकोटपारि नागढुंगा, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, धापाखेलको नागदह, कलमसीस्थित पाँचटाउके कल्पेश्वर नागलगायत ठाउँमा भक्तजनको भीड लागेको छ । यसै तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ ।
बौद्ध ग्रन्थअनुसार नागलाई सकारात्मक दृष्टिले हेरिन्छ । बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथाहरूमा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान् र अमरताको प्रतीकको रूपमा पेस गरिएको छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नागले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने विषयलाई वैज्ञानिकले पुष्टि गरेका छन् ।
पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । नागपञ्चमीका दिन शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । घर निर्माण गर्दा भूमिमा नागदेवताको बास भए आजकै दिनमा विधिवत पूजाआजा गरी नागलाई पन्छाई नागदोषबाट मुक्त हुने धार्मिक विश्वास छ । सर्पको प्रयोगबाट क्यान्सरजस्तो प्राणघातक रोगका लागि औषधि बनाउन सकिने वैज्ञानिक तथ्य पनि बाहिर आएको छ ।
पृथ्वीमा नाग रहेमात्र मानव बाँच्न र स्वस्थ रहन सक्ने र चराचर जगतको सन्तुलन मिल्ने भएर पनि नागपञ्चमीको वैज्ञानिक महत्व छ । सर्पले हाम्रो वातावरणलाई स्वच्छ बनाउँछ् । सर्पमा इको सिस्टम अत्यन्त मजबुत हुन्छ । त्यसैले हाम्रो वरिपरिको वातावरण स्वच्छ हुन्छ । सर्पले मुसा, किरा, इत्यादि खान्छ जसका कारण इको सिस्टम मजबुत रहन्छ । त्यसैले पनि यसको वैज्ञानिक महत्व छ ।
यसर्थ नागको महत्व धार्मिक, सामाजिक, वैज्ञानिक एवं सबै दृष्टिकोणबाट महत्वपूर्ण छ । नागलाई वृष्टि र उब्जनीको अधिष्ठाता देवता मान्ने परम्परा नेपाल र भारतमा मात्र सीमित नभएर कतिपय युरोपीयन देशहरूमा समेत प्रभाव परेको छ । नागपञ्चमीको रूपमा नाग पूजा गर्ने संस्कृति तिनै नागपूजक प्राचीन जातिहरूको संस्कृति बन्न पुगेको हो ।
हिन्दू समाजमा श्रवण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने गरिएको छ । नाग पूजा मात्र नभएर समग्र प्रकृति पूजा नै विशेषताको रूपमा झल्किने गरेको हुनाले यसको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व रहिआएको छ ।

