दैलेख । निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई दैदलेखमा कारबाही गरिएको छ । दैलेखको गुराँस गाउँपालिकाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको भन्दै तीन शिक्षकलाई कारबाही गरेको हो ।
गुराँस गाउँपालिका वडा नं ५ मा रहेको कृष्ण माध्यमिक विद्यालयकमा कार्यरत तीन जना शिक्षकलाई जनही रू. १० हजार जरीवाना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाइने नीतिको विपरित तीन जना शिक्षकले निजी विद्यालयमा पढाएकाले गाउँपालिकाको निर्णय अनुसार १० हजार जरीवाना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले २०७५ चैत २५ गते गाउँपालिकाभित्रका सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।
उक्त निर्णयको पालना नगरेको भन्दै उनीहरूलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । विद्यालयमा कार्यरत शिक्षकहरू पदमबहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको पाइएकाले रू. १० हजार जरीवाना गाउँपालिकाको खातामा जम्मा गर्न गाउपालिकाले आदेश दिएको छ ।
