काठमाडौं । केन्द्रीय अनुगमन टोली परिचालन भएको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने टोलीलाई निर्वाचन आयोगले अख्तियारी दिएको छ ।
उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो ।
विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् । उनीहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिएको बताए ।
र्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय रूपमा सम्पन्न गर्नेबारे आग्रह–पूर्वाग्रह नराखी ऐन, कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन दिएका थिए । आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ ।
अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
