काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपालमा ६० लाख डोज खोप भित्रिएको थियो । प्रधामन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि खोप प्राथमिकतामा राखेको भन्दै पहिलो निर्णय नै सबै नागरिकलाई खोप दिने निर्णय गरेको छ । सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कुल दुई करोड ६५ लाखमा खोप लगाउने उद्घोष गरेको छ । सबैलाई खोप लगाउन कुल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक देखिन्छ ।
६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको तथ्यांक रहेको छ । सरकारले ५० लाख मात्रा खरिद गरेर ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ । कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको जनाइएको छ ।
कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो हप्ता नेपाल आइपुग्ने तालिका रहेको छ ।
अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

