काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू भएको छ । दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन भव्य उद्घाटन गर्ने तयारी गरेको छ।
महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरिएको छ भने विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुन लागेको नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र कांग्रेसआईका नेताहरू काठमाडौं आइसकेको प्रवक्ता विश्वप्रकाश शर्माका बताए ।
उद्घाटन सत्र दुई घन्टा चल्ने छ । शनिबार उम्मेदवारहरूको मनोनयन हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरिएको प्रवक्ता शर्माले जानकारी दिए । प्रविधिलाई उच्च प्राथमिक्ता दिएको कांग्रेसले विद्युतीय भोटिङ मेसिन भने प्रयोग नगर्ने जनाएको छ।
मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान केन्द्र रहने उनको भनाइ छ । २९ मतपत्र रहने भन्दै शर्माले कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ भने बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ।
महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबारे बन्द सत्रमा छलफल हुने बताइएको छ। कांग्रेसको बिहीबार बसेकोे केन्द्रीय समिति बैठकले यी प्रतिवेदनलाई सर्वसम्मतले पारित गरिसकेको छ । अहिलेको महाधिवेशनले नेतृत्व चैन गर्ने काँग्रेसले जनाएको छ । महाधिवेशन मंसिर २७ गतेसम्म चल्ने छ ।
‘डिजिटल कांग्रेस’ मतपत्र भने ब्यालेटमाः
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पछिल्लो समय प्रविधिमा जोड दिँदै ‘डिजिटल कांग्रेस’ निर्माण अभियान थालेको छ । पार्टीको आधिकारिक वेबसाइटमा करिब ८ लाख ४० हजार १ सय ६ क्रियाशील सदस्यको सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको काँग्रेसले १४ औं महाधिवेशनमा निर्वाचित वडादेखि केन्द्रसम्मका सदस्य तथा पदाधिकारीको विवरण पनि सहजै हेर्न मिल्ने बनाइएको छ ।
शुक्रबार महाधिवेशनमा मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिँदै छ । पार्टीले निर्णय गरेको खण्डमा इलेक्ट्रोनिक मतदान प्रणालीबाट निर्वाचन गर्न सक्ने गरी प्रविधिको विकास पनि गरिएको थियो । तर यसपालि भने १४ औं महाधिवेशनमा मतदाताले कागजी मतपत्रमा मतदान गर्नेछन् ।
‘प्रविधिको हिसाबले नेपालका सबै दलभन्दा अगाडि रहेको भन्दै नेपाली काँग्रेसका नेता तथा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले कांग्रेस साँच्चिकै डिजिटल युगमा प्रवेश गरेको बताए । तर यसपालि कागजी मतपत्रमै मतदान गर्ने र यो नै अन्तिम कागजी मतदान हुने नेता सिंहले बताए ।
प्रजातन्त्र स्थापनाका लागि २००३ सालमा भारतको कलकत्तामा स्थापना भएको नेपाली कांग्रेसले साढे ७ दशकको यात्रा पार गरेको छ । यो अवधिमा पार्टीको शीर्ष नेतृत्व तहमा ९ जना पुगेका छन् । २००३ सालमा भएको पहिलो महाधिवेशनबाट टंकप्रसाद आचार्य पहिलो सभापतिका रूपमा निर्वाचित भएका थिए ।
स्थापनाकालमा बीपी कोइराला कार्यकारी सभापति थिए भने त्यसयता डिल्लीरमण रेग्मी, बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वमा पुगेका छन् ।
कांग्रेसको पहिलो महाधिवेशन २००३ सालमा पटनामा, दोस्रो २००४ सालमा बनारसमा, तेस्रो २००५ सालमा दरभंगामा, चौथो २००६ सालमा बनारसमा, पाँचौं २००९ सालमा जनकपुरमा, छैटौं २०१२ सालमा वीरगन्जमा, सातौं २०१७ सालमा काठमाडौंमा, आठौं २०४८ सालमा झापामा, नवौं २०५३ सालमा काठमाडौंमा, दसौं २०५७ सालमा पोखरामा र एघारौं ९२०६२ सालमा, बाह्रौं २०६७ सालमा र तेह्रौं महाधिवेशन २०७२ सालमा काठमाडौंमा भएका थिए ।
अहिले २०७८ सालमा काठमाडौंको भृकुटीमण्डपमा १४ औं महाधिवेशन भइरहेको छ ।
