भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा सास्ती

पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा सास्ती

कैलाली । कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको बेलुवाघाटमा पुल नहुँदा नागरिकलाई सास्ती भएको छ । भजनी–८ स्थित दैलेखीटोल, जनकपुर, झवहीबाट जनकपुरसम्मका नागरिकको किनमेल गर्ने बजार टीकापुरको सत्ती, बेलुवा, भजनी र टीकापुर हो । यी बजार आउजाउ गर्न बेलुवाघाटमा पुल नहुँदा हजारौँ नागरिकलाई समस्या भएको छ । पुल हुँदा दुई किलोमिटर दूरी पार गरे सत्ती पुगिने त्यहाँका नागरिकलाई अहिले १० किलोमिटर दक्षिणपट्टि वा १५ किलोमिटर झवही गएर नदी पार गर्नुपरेको छ । पुल नहुँदा कष्ट भएको भजनी–८ जनकपुरका अजय तिमिल्सिना बताउनुहुन्छ । “पुल नभएर नागरिकलाई निकै कठिन छ । दुई किलोमिटरमा टीकापुर पुग्न सकिन्छ तर पुल नभएकै कारण १५ किलोमिटरसम्मको यात्रा गर्न बाध्य छाँै”, तिमिल्सिनाले भन्नुभयो, “धेरै समयदेखि पुल निर्माणको माग गरिरहेका छौँ तर बनाउन पहल भएको छैन ।”

यो बाटो कृषि प्रयोजनका लागि प्रयोग हुन्छ । मलवारा क्षेत्रका नागरिक धेरैले खेतीपाती गर्छन् । यो बाटो भएर दैनिक हजारौंंँ नागरिक हिँडडुल गर्छन् । यहाँका करिब १० हजार नागरिकले यो बाटोको प्रयोग गर्छन् । यतिखेर धान बिक्री गर्ने सिजनमा पुल नहुँदा समस्या भएको जनकपुरका खेमराज चौधरीले बताउनुभयो । “हाम्रो धान खरिद बिक्री गर्ने बजार सत्ती र टीकापुर हो । गल्ला व्यापारीले धान खरिद शुरु गरेका छन्”, चौधरीले भन्नुभयो, “धान बिक्री गरेर घर खर्च चलाउने हामीलाई बिक्री गर्न लैजान समस्या भएको छ । पुल भए कति सहज हुने थियो ।”

चौधरीले पुल नभएकै कारण ढुवानी खर्च बढेको, समय बढी खर्च हुने गरेको बताउनुभयो । “भजनी र टीकापुरका आठ गाउँका मानिसले प्रयोग गर्ने बाटोमा पुल छैन । विगतमा हिउँदमा पानी घटेर नदी वारपार गर्न सकिन्थ्यो”, चौधरीले भन्नुभयो, “पछिल्ला वर्ष नदीमा पानीको बहाव घटेको छैन । नदी वारपार गर्न सकिँदैन ।” पुल निर्माणका लागि धेरै पहल गरे पनि निर्माणमा कसैले ध्यान नदिएको उनीहरुको गुनासो छ । यहाँका स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटबाट दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ, तर पुल नहुँदा यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन, व्यापारिक विकास गर्न पनि कठिन भएको स्थानीय ज्ञानबादुर रावलको भनाइ छ । “पुल भएको भए यहाँको व्यापारिक विकासमा सहयोग पुग्ने थियो”, रावल भन्नुहुन्छ, “पुल बने यहाँ उत्पादन भएको तरकारीले समेत बजार पाउने थियो ।”

बाटो र पुलको समस्याले यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन कठिन भएको छ । महिलालाई सुत्केरी तथा गर्भवती अवस्थामा सेवा लिन कठिन भएको निर्मला तिमिल्सिनाको गुनासो छ । “शल्यक्रिया गर्नुपर्ने बिरामीले बाहिर जानुपर्ने हुन्छ तर बाटोको समस्याले सेवा लिन कठिन भएको छ”, उहाँले भन्नुभयो, “बाढीका कारण भएको बाटो पनि यातायात चलाउन कठिन छ । यहाँका महिलाले बढी समस्या भए यही ज्यान जाने अवस्था छ ।” दुई स्थानीय तह टीकापुर र भजनीलाई जोड्ने यो घाटमा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । “स्थानीय तहले आफैँले बनाउन सक्ने अवस्था छैन, दुवै स्थानीय तहले प्रदेश सरकारसँग माग गरेका छौँ”, चौधरी भन्नुहुन्छ, “आश्वासन पाएका छौँ, अब पुल बन्छ ।” नगरप्रमुख चौधरीले पुल निर्माण भएमा यहाँको व्यापारिक, आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.