लम्जुङ । यहाँ पर्यटन प्रवद्र्धनका लागि दोर्दी गाउँपालिका– ४ मा रहेको दाम्राङ पोखरीसम्म सडक लगिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं ९क० अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि सडक निर्माण गरिएको जानकारी दिनुभयो । यस क्षेत्रको प्रचारप्रसारमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । पूर्वाधार विकास कार्यालय लमजुङमार्फत सडक निर्माण भएको थियो ।
ठूलाखेत–कामचोक–दाम्राङ–लिपे पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले यस सडक चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको बताउनुभयो । रु २५ लाखमा पालिकाको वडा नं ४ ठूलाखेतदेखि यसै वडाको दाम्राङ पोखरीसम्म सडक निर्माण भएको उहाँको भनाइ छ । त्यस्तै पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा दाम्राङ पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ ।
दाम्राङ हरित पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष फुलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यस पार्कभित्र ढुङ्गाको सिंढी निर्माण, २८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा ९० वटा वृक्षरोपण गरिएको छ । दाम्राङ पोखरी तथा यस पार्क गरी करीब १० रोपनी क्षेत्रफल ओगटेको स्थानीयको भनाइ छ । दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । पोखरीको संरक्षण र प्रवद्र्धन गर्नसके पर्यटनका लागि नयाँ गन्तव्यका रुपमा सुन्दर ठाउँ हुनसक्ने स्थानीयको भनाइ छ ।
यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिप, दूधपोखरी हुँदै गोरखासमेत निस्कनसक्ने स्थानीय युवराज अधिकारीले बताउनुभयो । प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारले पनि ध्यान दिन थालेकाले आगामी दिनमा पर्यटक आउने अपेक्षा उहाँले गर्नुभयो । उहाँका अनुसार यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार ५०० मिटर पदमार्ग निर्माण भएको छ ।
प्रदेश सरकारको यस चालू आर्थिक वर्षकै बजेट रु २० लाखमा निर्माण भएको हो । इलमपोखरी–लिपे– धौथली–रप्प्रो–दाम्राङ–नौथर शेरा चक्रिय पदमार्गअन्तर्गत उक्त काम भएको छ । यस चक्रिय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको स्थानीय अधिकारीको भनाइ छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ ।
निमित्त प्रमुखका भरमा पुनःनिर्माण प्राधिकरण कार्यालय
बेंसीशहर नगरपालिकामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० मा निमित्त प्रमुख सूर्यप्रसाद शर्माका भरमा कार्यालय चल्दै आएको छ । सरकारले दरबन्दीअनुसार पर्याप्त कर्मचारी नपठाउँदा दरबन्दीअनुसार सात जना हुनुपर्ने भए पनि सरकारको राजपत्र अङ्गीकृत तृतीया श्रेणीका शर्माको भरमा लामो समयदेखि यस कार्यालय सञ्चालन हुँदै आएको हो ।
सात जनाको दरबन्दी भए पनि दरबन्दीअनुसार जम्मा एक जना मात्र यस कार्यालयमा कर्मचारी रहेको छ । दरबन्दीअनुसार राजपत्र अङ्गीकृत दोस्रो तह अर्थात् कार्यालय प्रमुख नै रिक्त रहेको छ । त्यस्तै लेखा अधिकृत, इञ्जिनीयर, सव इञ्जिनीयर, नायब सुब्बा र लेखापाल पद रिक्त रहेको निमिक्त कार्यालय प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार करारमा नौ जना हुनुपर्नेमा हाल सात जना रहेको र दुई जनाको पद रिक्त रहेको छ ।
करारमा रहेका कर्मचारीमा इञ्जिनीयर शैलेन्द्रकुमार चौधरी, सव इञ्जिनीयर ललितकुमार शाह, कम्युटर अपरेटर विनायक दवाडी र निलम श्रेष्ठ, सामाजिक परिचालक सपना गुरुङ, हल्का सवारी चालक विकास पौडेल र कार्यालय सहयोगी सरिता गुरुङ रहेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै करारतर्फ एक जना सव इञ्जिनीयर, एक जना कार्यालय सहयोगी गरी दुई जना खाली रहेको छ । यसरी कार्यालयमा कर्मचारी अभाव हुँदा कर्मचारीलाई काम गर्नका लागि समस्या हुनुका साथै सेवाग्राही तथा भूकम्पपीडितले समयमै सेवा लिन सकेका छैनन् ।
उहाँले भन्नुभयो, “कर्मचारी अभाव भए पनि जसोतसो काम गर्दै आइरहेका छौँ, अरु दिनमा त काम गर्छौं नै बिदाको समयमा समेत काम गरिरहेका छौँ ।” कार्यालयमा भन्दा बढी फिल्डमा समस्या भइरहेको उहाँको भनाइ छ । जिल्ला भौगोलिक विकटता र कर्मचारी कम हुँदा भूकम्पपीडितको घर निरीक्षणमा ढिलाइ, किस्ता सिफारिसमा ढिलाइ, सामाजिक परिचालनमा ढिलाइ भइरहँदा विभिन्न समस्य उत्पन्न भइरहेको यस कार्यालयका निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्बन्धित निकायमा हाम्रो समस्या र कर्मचारी अभावबारे जानकारी गराउँदै आए पनि कार्यान्वयन भएको छैन ।
समयमै किस्ता नपाउँदा भूकम्पपीडित निराश बनेका छन् । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्प आज छ वर्ष पूरा हुँदैछ । तर भूकम्पपीडितले आफ्नो निजी आवास पुनःनिर्माणमा यस अवधिमा विभिन्न समस्या झेल्न बाध्य भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० मा दुई वर्षअघिदेखि नै दरबन्दीअनुसारका कर्मचारी छैनन् ।” जिल्लामा भूकम्पले लमजुङमा १४ हजार ६४९ जनाको निजी आवास पूर्ण क्षति पु¥याएको छ । यसमध्ये हालसम्म नौ हजार ९६ जनाले निजी आवास पुनःनिर्माण कार्य सम्पन्न गरेको छ । जिल्लामा रहेको कूल लाभग्राहीमध्ये १४ हजार ४० जनाले पहिलो किस्ता लिएका छन् ।
त्यस्तै ११ हजार ७४९ जनाले दोस्रो किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालयले जनाएको छ । त्यस्तै प्रवलीकरणतर्फ जिल्लामा ८९४ मध्ये ८७ जनाले पहिलो किस्ता र दुई जनाले दोस्रो तथा अन्तिम किस्ता लिएका छन् । पहिलो किस्ताबापतको रु ५० हजार लिएर घर नबनाएका भूकम्पपीडितमध्ये २२ जनाले रु ५०÷५० हजार रकम फिर्ता गरेको छ भने, दोस्रो किस्ता रु एक लाख ५० रुपैयाँ लिएका दुई जना भूकम्पपीडितले सो रकम फिर्ता गरेको सो कार्यालयले जनाएको छ ।

