भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पिसिआरमा बढी रकम असुल्ने अस्पताललाई मुद्दा

पिसिआरमा बढी रकम असुल्ने अस्पताललाई मुद्दा

काठमाडाैं । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शिक्षण अस्पताललाई रु १८ लाख र स्टार अस्पताललाई रु पाँच लाख धरौटी माग गरिएको थियो । ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको जानकारी दिए ।

शिक्षण अस्पतालले सङ्कलन गरेको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क रु दुई हजार तोकेकामा ती अस्पतालले रु तीन हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो । ती दुई अस्पतालविरुद्ध यही चैत ४ गते मुद्दा पेश गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारवाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको छ ।

बयानका क्रममा दुवै अस्पतालका सञ्चालकले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो । यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजसमेतलाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.