पेचिलो बन्दै राजधानीको चुनावी माहोल, जनआधार नभएका र पकड जमाएकाबीच कडा प्रतिस्पर्धा हुने

पेचिलो बन्दै राजधानीको चुनावी माहोल, जनआधार नभएका र पकड जमाएकाबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंको चुनावलाई निर्वाचनमा विशेष चासोका साथ हेरिने गर्दछ । हरेक राजनीतिक परिर्वतनमा निर्णायक भूमिका, समग्र राजनीतिमा प्रभाव र राजधानी भएका कारण काठमाडौंको चुनावलाई विशेष चासोका साथ हेर्ने गरिएको हो । यसपटकको काठमाडौंको चुनाव विविध कारणले अझ चर्चा र चासोको साथ हेरिएको छ ।

१० वटा प्रतिनिधिसभा र २० प्रदेशसभा रहेको राजधानीमा कतै द्धिपक्षीय त कतै चार पक्षीय प्रतिस्पर्धा हुदैछ । काठमाडौं क्षेत्र नम्बर १ मा दलगत २१ र स्वतन्त्र ११ गरी ३२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमाले नेता किरण पौडेल र राप्रपाका रविन्द्र मिश्रबीच तीब्र प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।

अघिल्लो निर्वाचनमा सिंह र मिश्रबीच मुख्य टक्कर भएको यो क्षेत्रमा यसपटक पौडेलको उपस्थितिले झन रोचक बन्ने देखिको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षकसमेत भएका सुशासन पार्टीका उम्मेदवार रमेश खरेल स्थापित दलका उम्मेदवारलाई चुनौती बन्ने पनि खतरा देखिएको छ ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रको रुपमा चिनिँदै आएको क्षेत्र नम्बर २ मा एमाले र सत्तागठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अध्यक्ष नेपालले यसपटक गृह जिल्ला रौतहटबाट उम्मेदवारी दिएकाले यो क्षेत्रमा पार्टीगत संगठन, व्यक्तित्व र गठबन्धनको कारण नेकपा एमाले मणिराम फुयाल र सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीबीच कडा टक्कर हुने छ ।

यो क्षेत्रमा २० दलीय र १० स्वतन्त्र गरी ३० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं निर्वाचन क्षेत्र ३ बाट दलगत १५ र स्वतन्त्र ८ गरी २३ जनाको उम्मेदवारी परे पनि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसे रनेकपा एमाले उम्मेद्वार कृष्णबहादुर राईबीच तीव्र प्रतिस्पर्धा हुने छ । राई अघिल्लो निर्वाचनका विजेता हुन् भने चालिसेलाई गठबन्धनको पूर्ण साथ छ ।

कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ४ मा यसपटक रोचक बन्ने देखिन्छ । अघिल्लो निर्वाचनमा थापाका निकटतम् प्रतिद्वन्द्वी राजन भट्टराईलाई नै यसपटक एमालेले मैदानमा उतारेपछि रोचक बन्न लागेको हो । यसपटक महामन्त्री थापा जितको ह्याट्रिकलाई रोक्ने दाउमा रहेका भट्टराई तात्कालिन वाम गठबन्धनको साझा उम्मेदवार हुँदा पनि पराजित भएका थिए ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ बढी चर्चामा रहेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई टक्कर दिन नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल मैदानमा होमिएका छन् । चर्चित अभियन्ता उवं विवेकशील पार्टीकी रञ्जु दर्शनाको उम्मेदवारीले यो क्षेत्रको प्रतिष्पर्धालाई थप रोचक र घोचक बनाएको छ ।

दलगत १३ र स्वतन्त्र ११ गरी २४ जना उम्मेदवार मैदानमा होमिएको क्षेत्र नम्बर ६ मा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भिमसेनदास प्रधान उम्मेदवार छन् भन्दा एमालेले नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई मैदानमा उतारेको छ ।

प्रेमसागर कर्माचार्य र निर्देशन सिलवालको स्वतन्त्र उम्मेदवारीले यो क्षेत्रमा राजनीतिक दलका उम्मेद्वारका लागि निकै चुनौती देखिएको छ । प्रधान राष्ट्रिय राजनीतिमा परिचित नाम भएपनि खनाल भने राजनीतिमा नितान्त नयाँ व्यक्ति हुन् ।निर्वाचन क्षेत्र नम्बर ७ मा चारपक्षीय प्रतिष्पर्धा हुदैछ ।

यो क्षेत्रमा एमालेबाट श्यामकुमार घिमिरे, गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ प्रतिष्पर्धामा रहँदा एमालेबाट लगातार अघिल्लो २ निर्वाचन जितेका रामबिर मानन्धर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

चार उम्मेदवारको आ–आफ्नो पहुँच र विशेषता भएपनि यो क्षेत्रको चुनावी भिडन्त रोचक बन्न गएको छ । निर्वाचन क्षेत्र नम्बर ८ बाट १९ जनाले उम्मेदवारी दिएका छन् । यहाँ एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य र सत्ता गठबन्धनका उम्मेद्वार जीवनराम श्रेष्ठबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

हाम्रो नेपाल पार्टीका सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको उम्मेदवारले वैद्य र श्रेष्ठलाई चुनौती थपिएको छ । एमालेबाट कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनका तर्फबाट कल्पना धमलासहित दलगत १६ र स्वतन्त्र १० जना उम्मेदवार बनेको क्षेत्र नम्बर ९ मा स्थापित दलका उम्मेदवारबीच घम्साघम्सी हुने देखिन्छ ।

पूर्वमन्त्री श्रेष्ठ गत निर्वाचनका विजेता हुन । धमलाको लागि यो निर्वाचन क्षेत्र नितान्त नयाँ हो । विवेकशील नेपाली दलका मिलन पाण्डेको उम्मेदवारी श्रेष्ठ र धमलाका लागि चुनौती बनेको छ । पहिलो संविधानसभाको निर्वाचनदेखि चर्चित क्षेत्र नम्बर १० मा यसपटक त्रिपक्षीय प्रतिष्पर्धाले अझ रोचक बनाइ दिएको छ ।

दोस्रो संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गत निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार हितमान शाक्यलाई पराजित गर्न सफल राजेन्द्रकुमार केसीलाई यसपटक पनि कांग्रेसले चुनावी मैदानमा उतारेको छ । माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा सत्तागठबन्धन फुटेको छ । एमालेले हिमेस केसीलाई मैदानमा उतारेपछि त्रिपक्षीय भिडन्तको अवस्थामा यो क्षेत्र रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.