काठमाडौं । एमालेले उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र विद्यार्थीलाई सङ्गठित गर्न थालेको छ । उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको एमालेले जनाएको छ । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ला कमिटी क्रियाशील बनाएको हो ।
पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आवद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिका हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता तथा क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तिलाई सङ्गठित गरिएको प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यले बताइन् ।
पार्टी कामलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै पेशागत, प्राविधिक, सूचना, सञ्चार, श्रम, प्रवासबाट फर्किएका श्रमिक, खेलकुद, मनोरञ्जन क्षेत्र, सुरक्षा, पर्यटन, उद्योग, व्यापार–व्यवसाय, कला, साहित्य(संस्कृतिको क्षेत्रमा समेत यस किसिमका सङ्गठनात्मक गतिविधिलाई अघि बढाइने शाक्यको भनाइ छ ।
यसैबीच एमालेको यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रस्तुत गरिने राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदामाथि छलफल गर्न यही असोज ८ र ९ गते पार्टीको केन्द्रीय कमिटीको बस्दैछ ।

