२२ असार २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज निर्णायक वार्ता हुँदै छ । स्थायी कमिटी बैठकमा समस्याको निकास खोज्ने प्रयासमा लगातार नै भैरहेका छन् तर समस्या समाधान तर्फ भन्दा पनि जटिल्ता तिर गैरहेको छ । वार पारकै स्थितिमा पुगेका अध्यक्षद्वय आज निर्णायक वार्तामा जुट्न लागेका हुन् ।
आइतबार झण्डै डेढ घण्टा प्रधानमन्त्री निवास बालुवाटरमा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्ष निकाल्न नसकेका उनीहरु आज पुनः वार्तामा वस्न लागेका हुन् । विहान ११ बजेको स्थायी कमिटी बैठकअघि नै सहमतिको प्रयास थालिने नेकपाका नेताहरूले बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सुधारेर गएभने समस्या समाधान हुने नत्र झन बल्झिने उनीहरुको भनाई छ ।
ओलीका कारण सरकार र पार्टी दुबै असफल एवं अलोकप्रिय भएको निचोड अधिकांश स्थायी कमिटी सदस्यले निकालेका छन् । आजको बैठकमा पनि ओलीलाई दुबै पद छोड्न नै आग्रह गर्ने तर्क नेताहरुको छ । मन्त्रीहरुलाई कित्ताकाट गर्न निर्देशन दिए लगतै फुटनजिक पुगेको नेकपा सहमतिमा जान्छ या फुटतिर धकेलिन्छ आजको बैठकबाट निक्र्यौल हुने दुवैपक्षका नेताहरुले बताएका छन् । आइतबारको वार्तामा ओलीले विगतका कमी कमजोरी सच्याउँदै जाने र सरकार नछाड्ने अडान लिएपछि आज सहमतिको विन्दु पहिल्याउन गृहकार्य थालिएको एक नेताले बताए ।

