काठमाडौं । सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिदै सवल र सुदृढ हुँदै जाने संगठित र अनुशासित समूह भएको प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले बताएका छन् ।
सुदृढ र सुसज्जित सेनाको निर्माण कार्य निरन्तरको प्रकृया भएकोले दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीहरुले गर्दा यो कार्य सदैव चलिरहने बताए । प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा आज नेपाली सेनालाई सम्बोधन गर्दै प्रधान सेनापतिले सो कुरा बताएका हुन् ।
आफ्नो कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधान सेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकहरुमा माल्यार्पण गगे । कर्तव्यपालनाको सिलसिलामा घाईते भएका सकलदर्जाको
योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारको क्रममा रहेका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको कुरा स्मरण गराए ।
सामुहिक प्रयासबाट नेपाली सेनाले आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासको लागि सकलदर्जा लगायत सेनामा कार्यरत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यबाद व्यक्त दिए। तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयीक तर्क उठाई स्थिर माहोललाई खल्बल्याउने कुनैपनि स्वार्थ प्रेरित समूह तथा क्षणिक वा दुरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन सकलदर्जालाई निर्देशन दिए ।
प्रधान सेनापतिले आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कुमार बाबु थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।
त्यसै अवसरमा प्रधान सेनापतिले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा संचालित काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन एवं नेपाली सेनाको वर्षभरिका प्रमुख गतिविधीहरुको तस्वीर समेटिएको पुस्तकको विमोचनसमेत गरेका थिए ।
