काठमाडौं । विभिन्न बहाना र प्रलोभनमा पारी लुकिछिपी भारत पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहलमा जिल्ला प्रहरी कार्यालय, पर्साले उद्धार गरेको हो ।
सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनेर उनीहरुलाई विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारत पुर्याइएका थिए । युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु दुई हजारका दरले भत्ता दिने भनी काठमाडौँको बालाजुबाट लगिएको प्रहरीले जानकारी दिएको छ ।
पथलैया जङ्गलमा पुगेपछि समूह विभाजन गरी भारत पुर्याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन् । मानव तस्करलाई कडा भन्दा कडा कारबाही गरिने प्रहरीले बताएको छ ।
