प्रिय कर्णाली
यि नजरले कैद गरेका तिम्रा हाँसिरहेका खुशीमा पनि म रोदन देख्छु
तिम्रा रित्ता गोजी अनि भरिएका आँखासंग म परिचित छु
कुसँस्कारको एक टालोमा यौवनको एक ढिक्का खुन समेटेर
हरेक महिनाका प्रत्येक हप्ता कटाउने तिम्रा छोरीहरू मेरा दौँतरी हुन्
भारी भन्दा ठुला सपना अनि गर्हौँ जिम्मेवारीले पिल्सिएका तिम्रा छोराहरू मेरा दाजुभाइ हुन्
म बुझ्छु रारा भन्दा ठुलो छ, हाम्रो आँशुको संग्रहालय
कान्जिरोवा भन्दा अग्ला छन् पिडाका हिमशृङ्खला
तर फोक्सुण्डो भन्दा गहिरो छ, हामी बीचको आत्मियता
र त कर्णाली छ
खरको छानो भित्र मौलाएका रहरहरु
टिनको छानो भित्र गुन्जिने धुनहरु
ढुंगाको छानो भित्र पग्लिएका हृदयहरु
म चाहन्छु साथैमा नाचोस अनि सधैं रमाओस
तर आज,
म चाहन्न मैले फेरेको जुठो श्वासले तिमिलाई स्पर्श नगरोस्
श्वास बिनाका शरीरहरु तिम्रो काँध चढेर घाटमा नपुगोस
आज
म चाहन्न तिम्रो स्पर्श मेरो आँशु पुच्छ्नको लागि
म चाहन्न तिम्रो समिपता सहानुभूतिको लागि
आज यहीँ हो मेरो प्रेम तिमि प्रतिको
दुखी रहेका मन लिएर तिमि दन्किएको चिता समिप नपुग्नु
बरु म तारा बनेर खस्दा तिमि कर्णालीको खुशी माग्नु

बिध्याश्री सिंह
प्रिय कर्णाली म तिमिलाई कहिल्यै बिर्सन्न
तर तिमि मलाई सधैं नसम्झिदिनु
आज मलाई बाडुल्की लाग्यो भने पनि
तिमि बिरामी पर्न सक्छेउ
त्यसैले प्रिय तिमी अहिले पराई जस्तै बनिदेउ
मलाई फर्केर नहेर हेरेर पनि नदेख
म तिम्रै ज्योति न हुँ, तिमि उदाए पो मेरो अस्तित्व छ
मेरो जून म चाहन्न तिमिलाई कोरोनाको ग्रहण लागोस
बरु केहिबेर तिमि आफुलाई औंशिमा राख
ताकी तिमीलाई कसैले नदेखोस
अनि तिमिले कसैलाई नहेर
आज प्रेम निभाउँन हामीबीच पर्खाल लाग्नु जरुरी छ
