काठमाण्डौ । पर्वलक्षित विशेष सरसफाइका क्रममा दैनिक २ ट्रिपर थप फोहर काठमाण्डौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सङ्कलन गरिरहेको छ । वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलबाट खटिने जनशक्तिसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका जनशक्तिलाई विशेष सरसफाइ, स्वच्छता र सुन्दरता अभिवृद्धि गर्ने काममा महानगरले लगाएको छ ।
पर्वलक्षित अभियान अन्तर्गत नियमित सफाइसँगै शक्तिपीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरेको वातावरण व्यवस्थापन विभागले जनाएको छ । पर्वका समयमा घरघरमा खानेकुरा धेरै पकाइने भएकाले मुख्य दिनहरुमा घरेलु फोहर धेरै उत्पादन हुन्छ ।
यस्ता फोहरलाई सकेसम्म व्यवस्थापन गर्न र फाल्नुपर्ने फोहर सङ्कलक आएपछि मात्र बाहिर निकाल्न महानगरको आग्रह गरेको छ । भोलि र पर्सि बिहान ४ बजेदेखि ७ बजेसम्म अभियान चल्ने छ ।
दशमी र एकादशी गरी २ दिन बन्द हुने अभियान द्वादशीका दिनदेखि नियमित हुने छ । काठमाण्डौ महानगरपालिकाले दशैँलगायत पर्वका बेला फोहरलाई व्यवस्थापनको लागि सहयोग गर्न सबैसँग अनुरोध गरेको छ ।
