भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी

बझाङ । जिल्लाको बुङ्गल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पु¥याएपछि उहाँ मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।

आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घर अगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उहाँ बताउनुहुन्छ ।

दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि हाइसञ्चो भएको छ । वर्षौँदेखि खोलाको पानी बोक्दै आउनुभएकी उहाँ गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउनुहुन्छ । “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ”, उहाँ भन्नुहुन्छ, “पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो ।

सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैँसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौँ ।” गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उहाँले बताउनुभयो ।

महिलालाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालयसमेत नजाने गरेको खप्तडछान्ना–२ की पुजा सुनारले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला सात दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ  ।” पानी नहुँदा महिनावारी भएका छात्रालाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कूल छुट्ला भन्ने चिन्ता हुँदैन ।

दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयवासीले खोला र कुलाको फोहर पानी पिउनुपरेको छैन । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छन् । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको हो ।

जिल्लामा अहिलेसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टोलीनेता कलक खत्रीले बताउनुभयो । परियोजनाअन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुङ्गल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् ।

सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुङ्गल नगरपालिकामा दुईवटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इञ्जिनीयर लोकेन्द्र ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्कीमा जम्मा हुन्छ । सोही ट्याङ्कीबाट घरघरमा वितरण गरिन्छ ।” आयोजनाबाट हालसम्म विभिन्न स्थानीय तहमा एक हजार २०० घरधुरीका करिब सात हजार जनसङ्ख्या लाभान्वित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.