काठमाडौं । रगत नपाएर तड्पिनु परेका विपन्न विरामीले अब निःशुल्क रगत पाउने भएका छन् । बागमती प्रदेशका अस्पतालमा विपन्न बिरामीले रगत निःशुल्क रूपमा पाउने भएका हुन् । प्रदेश अन्तर्गतका अस्पतालहरूमा नेपाल रेडक्रस मार्फत बिरामीले निःशुल्क रगत पाउने व्यवस्था मिलाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसका लागि बागमती प्रदेशको स्थायी बासिन्दा तथा विपन्न वर्गको हुनु पर्ने छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र वीर अस्पतालबीच सम्झौता हस्तान्तरण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले संयुक्त रूपमा हस्ताक्षर गर्दै प्रदेशका विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने प्रतिबद्धता भएको हो ।
विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारका लागि सरकार प्रयासरत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए । विपन्न नागरिकलाई सहज स्वास्थ्य उपचार होस भन्ने उद्देश्यले नीति तथा कार्यक्रम तयार गरेको र सोही अनुसार नेपाल रेडक्रससँग निःशुल्क रगतका लागि सम्झौता गरिएको प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बताए ।
रगत निःशुल्क हो, तर रगतको राख्ने ब्याग, विभिन्न परीक्षण लगायतका शीर्षकमा लाग्ने खर्च मात्रै लिने गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले बताए । सम्झौता अनुसार वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार स्त्री रोग अस्पताललगायत स्वास्थ्य मन्त्रालय बागमती प्रदेशबाट सूचिकृत भई सेवा विस्तार भएका अस्पतालहरूबाट निःशुल्क रगत प्राप्त गर्न सकिने छ ।
यस्तै बाग्मती प्रदेशले नेपाल रेडक्रससँग निः शुल्क रगत उपलब्ध गराउने र शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ।
कार्यक्रममा बाग्मती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति एक लाख रुपियाँ सहुलियतमा थप ५० हजार रुपियाँ उपलब्ध गराइरहेको र हृदय रोगका बिरामीलाई एक लाखमा थप गरेर एक लाख १० हजार उपलब्ध गराउने विषयमा समेत सम्झौता भएको छ ।
कार्यक्रममा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गङ्गालाल अस्पताल, मनमोहन कार्डियो अस्पतालका निर्देशकहरू, स्वास्थ्य मन्त्रालयका सचिव, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश, काठमाडौँ, भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरू, केन्द्रीय कार्यालयका निर्देशकहरू, युवा रेडक्रस सर्कलका प्रतिनिधिहरूलगायतको उपस्थित रहेको थियो ।
