बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

६ साउन २०७७ काठमाडौं । बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ । सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाका दुइ सय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ ।

वितरित सामग्री सेटमा तार्पोलिन –१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४।५ मीटर, भाँडाकुडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य रु। १० हजार रहेको छ ।

२५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको र ५ हजार परिवारलाई सहयोग गर्ने तयारीमा रहेको नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताए । नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक उद्धार, राहत सेवा पुर्याइरहेको उनको भनाइ छ ।

आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको रेडक्रसले जनाएको छ । बाढी पहिरोले दुइहजार चारसय अठतीस परिवार विस्थापित भएको, ३ हजार ३ सय ५७ परिवारमा गम्भीर असर परेको रेडक्रसको प्रारभ्भिक अनुमान छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार चारसय पन्ध्र घरमा पूर्णक्षतीभएको, पाँचसय पैँसठी घरमा आंशिक क्षति पुगेको र बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालित भएको सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले बताए । यसैबीच सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ ।

त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ । रेडक्रसका निकायहरुले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत् सेवा गरिएको, म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलीकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको निर्देशक पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.