बिमस्टेक बैठकः दिगो विकासका एजेन्डामा छलफल हुँदै

बिमस्टेक बैठकः दिगो विकासका एजेन्डामा छलफल हुँदै

काठमाडौँ । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । श्रीलङ्काले आयोजना गरेको भर्चुअल मन्त्रीस्तरीय बैठक अपराह्न ३ बजे शुरू हुने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्दैछन् । बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् ।

जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।

 


Thali Mobile Pvt.Ltd.