भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

भारतीय सुरक्षाकर्मीको अवरोधले हलियाको घर निर्माण अधुरै

भारतीय सुरक्षाकर्मीको अवरोधले हलियाको घर निर्माण अधुरै

कञ्चनपुर । भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो । पुनः स्थापन कार्यक्रमअन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएपछि झोपडीमा बस्दै आएका मुक्त हलिया परिवारले दुई वर्ष अघिदेखि घर निर्माणको कार्य शुरु गरेका थिए ।

घर निर्माण शुरु कार्य गरे भारतीय सीमा सुरक्षा बलले आएर अबरोध गर्न थालेपछि रातको समयमा प्लास्टिक छानो राख्नेसम्म कार्य भएको जानकारी दिँदै मुक्त हलिया परिवारका कमला सार्कीले भन्नुभयो, “छानो राख्न थालेपछि भारतीय सुरक्षाकर्मीले राख्न दिएनन् ।” भारतीय सुरक्षाकर्मीले छानामा जस्तापाता राख्न नदिएपछि प्लाष्टिक राखेर मुक्त हलिया परिवार निर्माण गरिएको घरमा बस्दै आएका छन् । कामलाका अनुसार भारतीय सुरक्षाकर्मीले आफूहरुलाई सो क्षेत्र भारतमा पर्ने भन्दै घर बनाउन रोक्दै आएका छन् ।

“भारतीय सुरक्षाकर्मीले घरमै आएर जग्गा खाली गर्नोस् भन्छन्”, ७० वर्षीया लक्ष्मी सार्कीले भन्नुभयो, “भारतीय सुरक्षाकर्मीको धम्कीको बेवास्ता गर्दै रातिका बेला घर निर्माण गरेका छौँ । छानो राख्न नदिँदा निकै समस्या भएको छ । वर्षाको पानी प्लाष्टिकको छानोबाट भित्र छिर्ने भएकाले अनिदोमै रात काट्नु परेको छ ।” भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिँदै आए पनि मुक्त हलिया परिवार वर्षौदेखि बस्दै आएका जग्गा छोड्न तयार छैनन् । निर्माण गरिएको घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् । खुला ढोका भएको घरमै मुक्त हलिया परिवार बस्दै आएका छन् ।

“नेपाली भूमिमै घर निर्माण गरेका छौँ’, खडकबहादुर सार्किले भन्नुभयो, “यस क्षेत्रलाई छोडेर जादैनौँ । तीन दशक यसै ठाउँमा बिताएका छौँ । यो ठाउँ छाडेर अरु कुन ठाउँमा गएर बस्ने रु जग्गा भनेको यही नै हो । यत्तीका वर्ष यस क्षेत्रमा बसोवास गर्दा कसैले केही भनेनन् । हाल आएर भारतीय पक्षले जग्गा छोड्न दबाब दिँदै आएका छन् ।” नेपाली जग्गामै घर रहेकाले हटाउन नहुने नेपाली शुरक्षा निकायले भन्दै आएको मुक्त हलिया परिवारको भनाइ छ । मुक्त हलिया परिवार विगत ३० वर्षदेखि यस क्षेत्रमा बस्दै आएका छन् ।

विवादास्पद टनकपुर बाँध नजिकै घरबासका लागि मात्रै मुक्त हलिया परिवारसँग जग्गा रहेको छ । मुक्त हलिया परिवार एलानी जग्गामा बस्दै आएका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया परिवार नेपाली भूभागमा वर्षौदेखि बस्दै आएकाले सरकारले पुनः स्थापन कार्यक्रमअन्र्तगत घर मर्मतका लागि रकम उपलब्ध गराएको बताउनुहुन्छ । नेपाली भूभागमै बस्दै आएका मुक्त हलिया परिवारमाथि भारतीय शुरक्षा निकायले पटकपटक आएर धमक्याउने कार्य कदापी सैह्य नहुने उहाँले बताउनुभयो । पूर्वसीमा सर्भेक्षक मानसिंह भण्डारी मुक्त हलिया परिवार बस्दै आएको नेपाली भूभाग भएको बताउनुहुन्छ । “मुक्त हलिया परिवार वर्षौदेखि त्यस क्षेत्रमा बस्दै आएका छन्”, उहाँले भन्नुभयो, “त्यो भूभाग नेपालको हो । टनकपुर बाँध निर्माण गर्दा भारतीय पक्षले सीमा स्तम्भ बाँध भित्र पारेपछि अनावश्यक बखेडा झिक्दै आएको छ ।”  रासस

 


Thali Mobile Pvt.Ltd.