भर्खरै : Sorry, your browser does not support inline SVG.

भावुक सन्देशः सडकपेटीमा दैनिक गुजारा चलाएकी शर्मिलाको काठमाडौं महानगरले रोजीरोटी खोसेपछि उब्जिएको सवाल

भावुक सन्देशः सडकपेटीमा दैनिक गुजारा चलाएकी शर्मिलाको काठमाडौं महानगरले रोजीरोटी खोसेपछि उब्जिएको सवाल

काठमाडौँ । सामाजिक संजालमा भाइरल भइरहेको एउटा भावुक तस्वीरले हेर्ने जो कोहिका आँखा आशुले भरिन्छन् । जुन तस्वीरले मानिसलाई भावुक मात्रै बनाउदैन, महानगरको कार्यशैली प्रति कटाक्ष पनि गर्ने गरिएको छ ।

टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेट अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवार पेट मरिरहेकी र दैनीक गुजारा चलाई रहेकी शर्मिला तामाङको काठमाडौँ महानगरले बज्रपात नै पारिदिएको छ । उनको रोजीरोटी खोसेपछि अहिले मेयर बालेन साहको चौतर्फी आलोचना हुन थालेको छ ।

हालै शर्मिला तामाङको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले आम नागरिकको ध्यानाकर्षण गरिरहेको छ भने शासकहरुको निदहराम हुनेगरी गिज्याईरहेको छ । महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न मात्रै उठाइरहेको छैन, यसले सर्वहारा वर्गको हवाला दिने नक्कली कम्युनिष्टहरुको पनि पसिनैपसिना आउनेगरी सरापीरहेको छ ।

गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाका आँसु रोकिएका छैनन्, उनको अवस्था र महानगरको दादागिरी देख्ने जोकोहीको पनि आँखा रसाएका छन् । दुई वर्ष देखि सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का तीन महिनादेखि बिरामी जीवन धकेलीरहेका छन् । जीवनको सहारा श्रीमान् नै बिरामी भएर थलापरेपछि उनकोे चुल्हो बाल्न छोडेको थियो ।

पीडै पीडामा जीन्दगी धकेलीरहेकी शर्मिलाको एक मात्रै सहारा थियो ठेला गाडा र सडकको व्यापार । त्यहीपनि महानगरले खोसिदिएपछि धुवादार जीन्दगी बनेको छ । उनले सडकमा गुडाएर जोहो धानिरहेको ठेला पनि विदेशमा बस्ने मनकारी मान्छेले गरेको सहयोगबाट किनेको शर्मिलाले बताइन् ।

उनका श्रीमान् दिलीप घर घरमा रगं लगाउने काम गथ्र्ये तर आफै विरामीले थलापरेपछि घरको खर्च टार्न पनि मुस्किल थियो । उनी सन्चो भएपनि घरको चुल्लो बल्थ्यो होला तर, अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिला नाजवाफ छिन् । महानगरसँग उनको जम्काभेट पहिला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको पहिलो पटक हो ।

उत्त दिनको अवस्था सम्झिँदा शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा ऐठन हुन्छ र मुखबाट वाक्य फुट्दैन । महानगरका कर्मचारी आउँदै छन् भन्ने थाहा भइदिएको भए ठेला नै कोठा बाहिर ननिकाल्ने भन्छिन् शर्मिला । ठेला थन्काएर श्रीमानलाई अस्पताल लाने तयारीमा लागेकी शर्मिलाको अचानक महानगरको टोली आयो र उनको ठेलामा भएका सामान लछार पछार पा¥यो ।

ठेलालाई गाडीमा हालेर लग्यो । श्रीमान्को औषधि उपचार अनि आफ्नो पेटको गास खोसिन थालेपछि शर्मिलाले ठेलालाई नै अँगालो हाल्दै रुदै कराउँदै महानगरको गाडीमा उक्लिन पुगिन् । ठेलालाई छाडिइदिन उनले हार गुहार गरिन् । राई कराई गरिन् तर, उनको आवाज सुनिदिने र दुःख बुझिदिने कोही भएन, अन्ततः ठेलासंगै टेकु पु¥याइयो । उनको मात्रै ठेला थिएन त्यहाँ ।

उनकाेसंगै कैयौंका जीवन चलेका ठेलामाथि काठमाडाै महानगरको डोजर चल्यो । डोजरले धेरैका ठेला किच्दैगएपछि शर्मिलाका अगाडि लाचार भएर त्यो दृश्य हेर्न बाहेक कुनै विकल्प थिएन । अनि ठेलामा अंगालो हालेर कराउन थालिन् र बच्चालाई सडकमै छोडेर ठेला बचाउन त्यहाँ पुगेर विलौना गरिरहिन् ।

महानगरले आफ्नो पेटमा लात हान्दा पनि महानगर मेयर बालेन शाहप्रति उनको कुनै गुनासो छैन । तर एउटा सन्देश भने पक्कै छ । काठमाडौंका सडक पेटी खुल्ला पार्नु सबैको दायित्व हो तर यसरी कैयौं ठेलाबाटै गुजारा चलाएकाहरुको उठिबास लगाउनु राम्रो होइन भन्छिन् उनी ।

बिरामीलाई मेयर बालेनले निः शुल्क उपचार गराइदिएको सुनेकी थिए । उनलाई त्यसो गरेकोमा उनले उल्टै धन्यवाद दिइन् । परिआएको खण्ड आफ्नो एकमात्र सहारा श्रीमानको पनि मेयर शाहले निः शुल्क उपचार गरिदिनेमा विश्वस्त छन् । तर अब फेरी सडकमा गएर व्यापार गर्ने आँट उनीसंग छैन ।

धनी मानिस र माफियाका कारण कुरुप बनेको शहरको चोला फेर्ने मेयर बालेन्द्र शाहले राम्रै गरेको प्रति धन्यवाद दिइन् । तर, गरिब जनताको लागि भने मेयर शाहले बेठिक गरेकोमा उनको आपत्ति पनि छ । शर्मिला आफूलाई जस्तो बज्रपात अरू कसैलाई नहोस् भन्ने कामना गरिरहेकी छिन् ।

चुनाव आउँदै छ, यो चुनावले गरिव दिन–दुःखीहरुको दिलमा घाम र पीडामा मलहम लगाउने अवस्था आउनेमा भने शंकै छ । सर्वहाराका भोटले जित्ने पछि  पहिलो प्रहार उनै दिन दुःखीमाथि गरिने भएकाले आशावादी पनि नभएको उनको बुझाइ छ ।

 


Thali Mobile Pvt.Ltd.