काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुगेकी किशोरी बेचबिखनमा परेकी छिन् । १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको पाइएको छ । मानव बेचबिखनमा संलग्न गिरोहले उनलाई बेचबिखन गरेको हो ।
किशोरी कुवेतमा पु¥याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचना पाएपछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धार प्रयास भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेकी ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पु¥याई जनही पाँच लाखमा बिक्री गरिएको खुलेको छ । गिरोहमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ ।
उद्धार गरी नेपाल ल्याइएकी ती युवतीले रहस्य खोलेकी छन् । पोर्चुगल र अमेरिकालगायतका मुलुकमा बिक्रि गर्ने गरेको पाइएको छ । कुवेतमा एक हजार तीन सय कुवेती दिनारमा आफुलाई बिक्री गरिएको ती युवतीले बताइन् । बेचबिखनमा परेपछि निरन्तर यौनशोषण तथा चर्को श्रम शोषण गरेको पीडित युवतीले बताइन् ।
कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कुटपिट गरेको प्रहरीको बयानमा उल्लेख गरेकी छन् । बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरीलगायतका आरोपमा फसाउने गरिएको उपरीक्षक मल्लले बताए ।
कुवेतमा रहेका मानव तस्कर गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिई थप शोषण गर्ने गरेका छन् । यस्ता घटनामा संलग्न फरार अन्य व्यक्तिको प्रहरीले अहिले खोजी कार्य तीब्र पारेको छ ।
