काठमाडौं । सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य नहुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक रहेको स्पष्ट पारे । विषम परिस्थितिमासमेत महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसा बढ्नु दुःखलाग्दो विषय भएको बताए ।
महिला र पुरुषमा एकअर्काको अस्तित्व स्वीकार्य नभएसम्म हिंसा कम नहुने नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए। एनजिओ फेडेरेसनका अध्यक्ष जीतराम लामाले महिला मात्र नभइ अहिले पुरुष पनि हिंसाको शिकार हुने गरेको जनाउँदै चेतनशील प्राणीले हिंसा गर्नै नहुने बताए ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले विशेषगरी सरकारी कार्यालयमा महिला र पुरुष एकै पदमा भए पनि महिला भएकै कारण समान सम्मानजनक व्यवहार नहुने गरेको दुःखेसो पोखे । महिला अधिकारकर्मी डा रेनु अधिकारीले महिलामाथि हुने हिंसाको प्रभाव उनीहरुमा मात्र सीमित नहुने बताइन् । महिलाको ५० प्रतिशत सहभागिता र हिंसा अन्त्यका लागि फेकोफनले स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको छ ।
