काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । बाढीपहिरोले क्षति पुर्याएपछिको मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेको जनाइएको हो । गएको असार १ र साउन १७ गतेको बाढीका कारण प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेपछि सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको उल्लेख गरिएको छ । सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाण्डौको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।
