भक्तपुर । भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबारदेखि भक्तपुर नगरपालिकामा वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोलेपछि भक्तपुरबासीहरुको घर–घरमा खानेपानी वितरण सुरु भएको हो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएका थिए । उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुशी भएको बताए ।
केयुकेएल भक्तपुरका सुरेन्द्रहिमालय श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने जानकारी दिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद समेत दिएका थिए ।
पानी वितरणसँगै ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ । कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।
