चितवन । भरतपुर महानगरपालिकाको मेयरमा भारी मतले विजयी भएकी रेनु दाहालले आफ्नो जित नभएर सिंगौ भरतपुरको जित भएको बताएकी छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।
मत गन्न अझै बाँकी भएको बेला भारी मतान्तरले अग्रता लिएकी दाहलले विजय सुनिश्चित भएको समर्थकहरुले घोषणा गरेर अविरमालाले स्वागत गरेका थिए । रेनु दाहालको दोस्रो पटकको विजयी हो । महानगर प्रमुखका रूपमा एक कार्यकाल पूरा गरेकी दाहाल भरतपुर बासीका नजरमा एकदमै विकासप्रेमी मेयरका रुपमा परिचित थिइन् ।
२०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी उनी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी छोरी हुन् । उनको युवाअवस्थाको अधिकाँश समय जनयुद्धमा वितेको थियो ।
पार्टीभित्र इमान र प्रतिष्ठाका लागि संघर्षरत नेतृका रूपमा स्थापित उनी माओवादी आन्दोलन सुरु भएदेखि नै कम्युनिस्ट राजनीतिमा लागेर सक्रिय भूमिका निभाएकी थिइन् ।केटाकेटी अवस्थाबाटै राजनीतिमा होमिएकी उनी माओवादी जनयुद्धका क्रममा अग्रणी भूमिका खेलेकी थिइन् ।
देशको ग्रामिण भूभागमा मात्रै होइन, प्रवास विभाग अन्तर्गतको संगठनमा रहेर पनि काम गरिसकेकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)’ को महासचिव हुँदै अध्यक्षको जिम्मेवारीमा रहेरसमेत काम गरिसकेकी उनी युद्धकालमा रोल्पाको सह–इन्चार्ज भएर पनि जिम्मेवारी पुरा गरेकी थिइन ।
कार्यकुशलता र जनविश्वासले उनलाई अहिले भारी मतकासाथ भरतपुर बासीले जिम्मेवारी दिएका छन् । समस्याहरूको सहज र सरल रूपमा समाधान गर्न सक्ने क्षमता राख्ने भएकै कारण भरतपुरवासीको मन जित्न सफल भएकी दाहाल भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशकै विकास निर्माणलाई पच्छ्याउने जमर्कोमा रहेको स्थानीयले बताएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित उनले ५ वर्षे कार्यकाल पूरा गरिसकेकी छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीलाई हराएकी उनले ४३ हजार १२७ मत ल्याएर विजयी हुदा मतपत्र च्यातेर जितेको आरोप समेत खेप्न परेको थियो ।
