भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

फुङ्लिङ, । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उहाँको पुख्र्यौली पेशा नै हो याकपालन ।

शेर्पासँग ६० वटा डी याकको माउ छन् । उहाँले याक गोठमै ६५ वर्ष बिताइसक्नुभएको छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुख्र्यौली पेशा याकपालन हो । यहाँका याक चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता याक चीनमा निर्यात हुनसकेको छैन । चीनको नाका दुई वर्षदेखि बन्द भएपछि यहाँका बासिन्दाले याक बिक्री गरेर आम्दानी लिनसकेका छैनन् ।

याक चीन निर्यात नहुँदा याङ्मा बस्तीका समुदायमा आर्थिक सङ्कट लागेको स्थानीयवासी ठावा शेर्पाले बताए । फिन्जो शेर्पाका परिवार नै अहिले याक गोठमा छन् । उहाँको घर याङ्मा हो तर अहिले घरमा ताल्चा लगाएर गोठमै याक बाछा स्याहार्न, दुहुनो याक दुहुन र छुर्पी बनाउँदै दिन बित्छ । उहाँले पनि याक गोठबाट आम्दानी लिन सक्नुभएको छैन । दुई वर्षअगाडि नौदेखि १२ वटासम्म याकका बाछादेखि बयस्क याक चीनमा बिक्री गर्दै आएको शेर्पाले बताए ।

विगतमा याक बिक्री गरेर वार्षिक रु नौदेखि रु १५ लाखसम्म आम्दानी लिँदै आएको भए पनि दुई वर्षयता याकबाट आम्दानी लिन नसकेको शेर्पाले बताए । एउटा याक रु एक लाख ५० हजारसम्ममा चीनका निर्यात हुने गरेको याङ्माका स्थानीय याकपालक टाँसी फिन्जो शेर्पाले बताए। चीनका नागरिकले याकको बाछापालनका लागि खरिद गरेर लाने गरेको शेर्पाले बताउनुभयो । वयस्क याक भने मासुका लागि खरिद गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

याक गोठबाटै राम्रो आम्दानी लिँदै आए पनि अहिले कोभिडका कारण नाका बन्द भएपछि आर्थिक सङ्कट बेहोर्दै आएको स्थानीयवासी छाम्जे शेर्पाले बताए । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने हिमाली बस्ती भएकाले यस क्षेत्रमा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र याकपालनका लागि अनुकूल रहेको छ । याङ्माका प्रत्येक परिवारको याक गोठ छ । यहाँका समुदायको मुख्य आयस्रोत पशुपालन हो । याकको बाछा, वयस्क याक, घ्यू, छुर्पी, चमर याकको पुच्छर चीनको विभिन्न क्षेत्रमा राम्रो मूल्यमा निर्यात हुँदै आएको छ ।

याकको बाछा रु एक लाखसम्ममा चीनमा बिक्री हुने गरेको सोनाम शेर्पाले बताए । याकको घ्यू र छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको छ । पशुजन्य उत्पादनबाट याङ्मागाउँका समुदायले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका छन् । कोभिड–१९ का कारणले चीनको टिप्ताला नाका दुई वर्षदेखि बन्द भएसँगै याङ्माका समुदायमा आर्थिक सङ्कट लाग्न थालेको स्थानीयवासीको भनाइ छ ।

वितगमा याक बिक्री गरेर वर्षभरि पुग्ने आवश्यक खाद्यान्न चीनबाट आयात गरिँदै आएको थियो तर दुई वर्षयता ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारदेखि खरिद मूल्यभन्दा तीन गुणा बढीमा ढुवानी गर्नुपरेको स्थानीयवासीको भनाइ छ । कोभिडका कारण दुई वर्षदेखि चीन टिप्ताला नाका बन्द हुँदा चीनसँगको सीमावर्तीका समुदायले विभिन्न समस्या खेप्दै आएका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला र याङ्मा क्षेत्रका बढी प्रभावित हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.