काठमाडौं । सडक यातायात क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि अनुगमनसहितको कडाइ नीति सरकारले अघि सारेको छ । पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारले यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारीसाधनमाथि प्रतिबन्ध लगाएको हो ।
गृह मन्त्रालय प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा शुक्रबार सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण एवं समाधानका लागि समन्वय गर्न समिति गठन गरिएको छ । समितिको बैठकले ‘बिमा नगरेका बससमेत गुडाउन रोक लगाउने निर्णय गरेको हो । विद्यमान नियम कानुन कार्यान्वयन पालनामा कडाइ गरिने भएको छ ।
दुर्घटना भई बिरामीको हवाईमार्गबाट अस्पताल लैजानुपर्ने भएमा यातायात व्यवसायी महासंघले नै खर्च बेहोर्नुपर्ने पनि निर्णय गरेको छ ।
समितिमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, यातायात व्यवस्था विभाग महानिर्देशक टोकराज पाण्डेय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मिरा चौधरी, नेपाल प्रहरीको कार्य विभागका डीआईजी वसन्त कुँवर, सशस्त्र प्रहरी पशुपतिनाथ वाहिनीका प्रमुखकुमार न्यौपानेलगायत रहेका छन् ।
दसैं-तिहारलगायत ठूला पर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति बढेको भन्दै सरकारले न्यूनीकरणका लागि निगरानी बढाउन समिति नै गठन गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र छतमा राखेर यात्रा गराउन रोक लगाइएको छ भने निर्णय कार्यान्वयन तथा अनुगमन जिम्मा प्रहरीलाई दिइएको छ ।
अब प्रहरीले नियमित चेकजाँच गर्नुपर्नेछ । यसअघि नै चाडपर्वलक्षित नेपाल प्रहरी र ट्राफिक प्रहरीले बसपार्क तथा उपत्यका मुख्य नाकामा चेकजाँच सुरु गरिसकेको छ । दसैंलगायत चाडपर्वका लागि गत १ असोजबाट अग्रिम टिकटसमेत खुला भइसकेको छ ।
यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक विक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा उपत्यकाका मुख्य स्थानमा यान्त्रिक परीक्षण व्यवस्था मिलाइने जनाएको छ ।
दुर्घटना न्यूनीकरण उद्देश्यले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति निरुत्साहित गर्न फिल्डमै कीटबाट परीक्षणसमेत गरिने भएको छ ।
