राजनीतिक पार्टी विचार र सिद्धान्तको आधारमा चल्नुपर्छ : मेयर प्रजापति

राजनीतिक पार्टी विचार र सिद्धान्तको आधारमा चल्नुपर्छ : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताएका छन् । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा नपली सिर्जना नगरका स्थानीय वडाबासी र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिबीच शुक्रबार समसामयिक विषयमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले स्वच्छ, धाँधलीरहित र निष्पक्ष ढंगले तोकिएको मितिमै स्थानीय निकायको चुनाव हुनुपर्नेमा जोड दिए । राजनैतिक नेतृत्वमा देखिएको नैतिकताको अभावकै कारण नेपालमा पैसा खर्च गरी चुनाव जित्ने गलत संस्कारको विकास भइरहेको बताउँदै प्रजापतिले समाजवादी व्यवस्था संसारको नवीनत्तम व्यवस्था रहेको उल्लेख गरे । उनले जनताको साथ र सहयोगले जनप्रतिनिधिलाई काम गर्न सहज भएको महसुस गरेको बताए ।

जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर यो अवस्थामा पुग्न सम्भव भएको उनले तर्क गरे । राजनीतिक दलहरुको सिद्धान्तहीन गठबन्धनको कुनै औचित्य नभएको बताउदै उनले राजनीतिक पार्टी भनेको विचार र सिद्धान्तको आधारमा चल्नुपर्ने तर्क गरे । भक्तपुर नपाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाइ नगरभित्र सञ्चालित विद्यालयहरुमा पठनपाठन गर्दै भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा, मौलिक सीप तथा प्रविधि र विभिन्न पक्षका विशिष्ट व्यक्तित्वहरुको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएको प्रष्ट पार्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई स्तरीय बनाउनुका साथै वडा वडामा रहेका पुस्तकालयहरूलाई पनि व्यवस्थित गर्ने प्रयासमा जुटेको जानकारी दिए ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाबासी जनताको प्राथमिकताका आधारमा यहाँको विकास निर्माणलाई अगाडि बढाएको जानकारी गराए । उनले वडाको खानेपानी समस्या सम्बोधनका लागि सम्बन्धित ठाउँमा पहल भइरहेको बताए । वडाले भक्तपुरको भाजुपोखरी, रानीपोखरीलाई पुनःजीवन दिने काम गरेको उल्लेख गर्दै सल्लघारीस्थित १०८ रोपनी जग्गामा पर्खाल निर्माण गरी संरक्षण गरेको उनले उल्लेख गरे ।

कार्यक्रममा नपली सिर्जना सेवा समितिका अध्यक्ष राममणि पोखरेल सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर नगरपालिकाले गरेको काम निकै प्रशंसनीय रहेको उल्लेख गर्दै नपाले नगरका मुल सडकमा बिछ्याएको ढुंगाले नगरको सुन्दरता अझ बढाएको बताए । नपली सिर्जना सेवा महिला उपसमितिका उपाध्यक्ष मन्जु निरौलाले भक्तपुर नगरपालिकाको पाँच वर्ष कार्यकालमा नपली सिर्जनानगरमा धेरै विकास निर्माणका गतिविधि भएको बताउदै जनप्रतिनिधिकै पहलका कारण वर्षेनी हुने बाढी र डुबानको समस्या समेत समाधान भएको तर्क गरिन ।

 


Thali Mobile Pvt.Ltd.