भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

राजमार्ग मर्मतको माग गर्दै स्थानीयवासी आन्दोलनमा

राजमार्ग मर्मतको माग गर्दै स्थानीयवासी आन्दोलनमा

लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी सडक मर्मतको मागसहित आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलन अन्तर्गत स्थानीयवासीले आइतबार र सोमबार केही बेर पूर्व–पश्चिम राजमार्गको मिर्चैया सडकखण्ड अवरुद्ध पारेर विरोध जनाएका थिए । तत्काल सडक मर्मत नभए अझ कडा आन्दोलनमा उत्रिने स्थानीयवासीको भनाइ छ । दैनिक हजारांै सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दापनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउछन् ।

राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार साउन महिनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्ष भन्दा बढी समय बितेपनि टालटुलसमेत हुनसकेका छैन् । खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ ।

मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस विसौनीमा रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेको छ । एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताए । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । यता मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.