काठमाडौं । माओवादी केन्द्रले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो ।
पार्टीका उपमहासचिव वर्षमान पुनले बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको बताए । काठमाडौँको प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्नेछ । पार्टी विधि र विधानबमोजिम सञ्चालन गर्न माओवादीले पहिलो पटक विधान सम्मेलन आयोजना गर्न लागेको हो ।
माओवादीले आगामी तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको पुनले जानकारी दिए । केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर वडासम्म पुगेर काम गर्ने गरी पठाइने, नयाँ पार्टी सदस्यता दिने, पुरानो पार्टी सदस्यता नवीकरण गर्ने, पार्टी नभएको ठाउँमा गठन गर्ने र प्रशिक्षित गरिने उनको भनाइ छ ।
विकृति र भ्रष्टाचारविरोधी अभियानका रूपमा सञ्चालन गर्ने, सरकारले गरेका राम्रा काम जनतामा र जनताका समस्या सरकारसमक्ष पु¥याइने उनले बताए । अहिले भ्रष्टाचारविरुद्धको सुशासनको अभियान राष्ट्रिय रूपमा अगाडि बढाइएको भन्दै एकथरी मानिस डराएर पार्टीभित्रै र गठबन्धनभित्रै खेल्न खोज्ने प्रवृत्ति देखिएको बताए ।
नेता पुनले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर काम गर्नुपर्ने बताउए ।
