वैशाख ९ देखि साउदीको रियादमा सिधा उडान

वैशाख ९ देखि साउदीको रियादमा सिधा उडान

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ देखि साउदी अरेवियाको रियादमा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जानकारी दिएको छ ।

रियादमा सिधा उडान सुरु गर्न लागिएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए दिए । उनले भने, ‘वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ, यो निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ ।’

निगमले हालै रियाद, दमाम र जेद्दामा उडान अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्सले तीनवटा शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

पहिलो चरणमा वैशाख ९ देखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ भने सातामा तीन दिन उडान गर्ने योजना रहे पनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने जनाएको छ ।

निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन बमोजिम नै कार्य गरेको निगमले जनाएको छ । उडान अनुमतिका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेविया पुगेर प्रक्रिया थालनी गरेका थिए ।

काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको छ । हाललाई एकतर्फी भाडादर कायम गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । साउदी उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको निगमले जनाएको छ ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौं–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि चारघण्टा ५० मिनेटको हुने छ ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदीको उडानले निगमलाई आर्थिक रूपमा लाभ हुने अनुमान गरिएको छ । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी सावित हुनेछ । नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने निगमले जएको छ ।

 


Thali Mobile Pvt.Ltd.