भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

संविधान निर्माणको नेतृत्व गर्नुभएका कोइरालाको ८२ औँ जन्मजयन्ती मनाइँदै

संविधान निर्माणको नेतृत्व गर्नुभएका कोइरालाको ८२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो । विद्यार्थीकालदेखि नै कोइराला राजनीतिमा क्रियाशील हुनुहुन्थ्योे ।

विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा पनि उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियोे । विसं २०१७ पुस १ गतेको राजनीतिक घटनापछि प्रवासमा रहँदा कोइराला नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०२५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइराला सुन्दरीजल बन्दीगृहबाट छुटेर उपचारका लागि भारत जानुभएपछि बिपीको निर्देशनमा प्रजातन्त्र पुनःस्थापनाका लागि उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो ।

पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै कोइराला कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा उहाँकै नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो । सो निर्वाचनपछि देशको नेतृत्व गर्नुभएका कोइराला सादगी र सन्त नेताका रुपमा नेपाली राजनीतिमा स्थापित हुनुभएको हो । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

जन्मजयन्तीका अवसरमा उहाँको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयनका विषयमा संविधानविद् एवं कानूनका जानकारबीच आज बेलुकी ‘जुम प्रविधि’का माध्यमबाट छलफल आयोजना गर्न लागिएको सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले जानकारी दिए । जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्थ्यो ।

यो संविधानको सफल कार्यान्वयन भए र लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुक आज कोरोनाको चपेटामा परेको छ । आम नागरिकलाई यो महामारीबाट जोगाउनका लागि प्रभावकारीरूपले अघि बढ्न फाउन्डेसनले सरकारसँग आग्रह गरेको छ । यो महासङ्कटबाट पार पाउने काम सरकारको एकल पहलबाट मात्र सम्भव नहुने भएकाले आम नागरिक पनि सचेत भई स्वास्थ्य मापदण्डअनुसार आफ्नो र परिवारको ख्याल राख्न फाउन्डेसनले सबैमा आग्रह गरेको छ ।

यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी कोइरालाको जन्मजयन्ती मनाउँदै छन् । कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो । शालिन व्यक्तित्वका धनी कोइराला अविवाहित नेता हुनुहुन्थ्यो । उहाँको ८१ औँ जन्मयन्तीका अवसरमा गत वर्षदेखि फाउन्डेसनले समसामयिक विषयमा अन्वेषण यात्रा कार्यक्रम गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.