सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज ४ प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको हो । महतोकै मोटरसाइकलमा पछाडि बसेका सर्लाहीको हरिओन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

राति करिब १० बजे महतो चढेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ८८०० नंको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याइएको र अस्पतालमै चिकित्सकले धनपैतको मृत्यु भएको घोषणा गरेका इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । मृतक महतोको शव परीक्षण गर्न आज बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । तेल ट्यङ्कर, त्यसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।

बालिकाको मृत्यु

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना ८ ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिँदा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीका नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी निजका छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्कर प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टयाङ्कर चालक तत्काल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.