अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी भएको आगलागीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन्।
भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनबाट आगो सल्किएर आगलागी भएको थियो। आगो निभाउने क्रममा चार जनाको ज्यान गएको थियो।
आगो लगाएको आरोपमा भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरेको छ।
जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।
गत वैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो। आगलागीमा परी घाइते भएकी एक जनाको उपचार भइरहेको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको रिजालले बताए।
यो नियममा ६ महीनादेखि दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जलाउने, हेलचेक्य्राइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ। “हेलचेक्य्राइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं,” रिजालले भने।
