भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका लागि सहज काठ उपलब्ध नहुँदा काठमाडौं उपत्यकाको मौलिकता हराउँदै गएको बताएका छन् । शुक्रबार डिभिजन वन कार्यालय भक्तपुरको आयोजना र भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघको सहकार्यमा भएको वन पैदावारमा आधारित सीप विकास तालिमअन्तर्गत ९० दिने फिनिसिङ एण्ड फिटिङसम्बन्धी तालिमको उद्घाटन गर्दै मेयर प्रजापतिले उक्तकुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भविष्यमा असल गुरु हुन असल शिष्य बन्नुपर्नेे बताउँदै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई भविष्यमा आफू प्रशिक्षक हुने हिसाबले प्रशिक्षणमा कडा परिश्रम गर्न प्रेरित गरे । भक्तपुर नपाले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई अनुदानको व्यवस्था गर्नुका साथै पुरानो नगरभित्र घर निर्माण गर्ने घरधनीहरुलाई घरको मोहडामा अनिवार्य काठको प्रयोग गर्नुपर्ने नीतिलाई अवलम्बन गर्दै आएको बताए ।
भक्तपुर नपाले नियमित रुपमा सिकर्मी, डकर्मीको तालिम सञ्चालनका साथै नगरबासीहरुलाई सीपमूलक तालिमहरुको समेत सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउँदै उनले कुनै पनि व्यक्तिमा सीप हुनु भनेको उसलाई आत्मनिर्भर बन्ने आधार तयार हुने बताए । त्यस्तै भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यहाँका कलाकृतिको जगेर्नाको लागि हस्तकलाका सीपहरुको तालिम सञ्चालनले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
वन पैदावार उद्योग व्यवसायी महासंघका माधवमणि हुमागाइँले तालिमले काष्ठकलासम्बन्धी दक्ष जनशक्ति अभाव हुन नदिनुका साथै रोजगारी समेत सिर्जना गर्ने बताउँदै सरकारी कार्यालयहरुले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने तर्क गरे । कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विनिता पाण्डेले तालिमको उद्देश्यमाथि प्रष्ट पार्दै ९० दिन सञ्चालन हुने तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको अवगत गराइन ।
कार्यक्रमा डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत प्रेमप्रसाद सापकोटाले भक्तपुरको २ ठाउँमा तालिम सञ्चालन हुने र तालिममा महिला प्रशिक्षार्थीहरुको सहभागिता उत्साहजनक रहेको जानकारी दिए । उनले यस्तो तालिमहरु सञ्चालनमा स्थानीय तहहरुको अग्रसरता रहे अझ उपयुक्त हुने बताए । कार्यक्रममा नगर प्रमुख प्रजापतिले सहभागी प्रशिक्षार्थीमध्येका एकजना प्रशिक्षार्थीलाई तालिमको ज्याबल हस्तान्तरण समेत गरेका थिए ।
